सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता हरिवंश आचार्यले फिल्म ‘पाँच पाण्डव’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् । दर्शकसँग भेट्न र प्रतिक्रिया लिन हल पुगेका उनले दर्शकले फिल्म मन पराएको बताएका हुन् । ‘फिल्म हेर्न आउनुभएका दर्शकले राम्रो लागेको बताउनुभएको छ । हेर्नेजति दर्शकले फिल्म मन परेको बताउनुभएको छ’, हरिवंशले भने, ‘पारिवारिक कथामा आधारित फिल्म भएकाले सबै परिवारसँगै बसेर हेर्न मिल्ने प्रतिक्रिया दिनुभएको छ ।’
फिल्मको विषयलाई लिएर सुरुमा आएको विवादबारे उनले धर्मका नाममा कसैलाई पनि नराम्रो नदेखाइएको स्पष्ट पारे । फिल्म प्रदर्शनमा आएपछि यो कुरा प्रमाणित भएको उनको भनाइ छ । ‘धर्मको विषयमा नराम्रो देखाउने र कसैको चित्त दुखाउने काम भएको छैन’, हरिवंशले भने, ‘कसैको चित्त दुखाउने काम गर्न पनि हुँदैन ।’
फिल्म हेरेका दर्शकले पनि धर्मका विषयमा आपत्ति जनाउनुपर्ने कुनै कुरा नरहेको प्रतिक्रिया दिएको उनले बताए । वसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतको पनि अभिनय छ ।
फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन् । ‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । लेखक पौडेलले यो फिल्म सामाजिक कथामा आधारित रहेको स्पष्ट पारेका छन् । उनका अनुसार फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको छ ।
फिल्मलाई श्याम तामाङले छायाङ्कन गरेका छन् । सुप्रिम पराजुलीले सम्पादन तथा रङ्ग संयोजन, सम्राट बस्नेतले द्वन्द्व निर्देशन र गम्भीर विष्ट तथा विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् । फिल्ममा अर्जुन पोखरेलको सङ्गीत, उत्तम न्यौपानेको ध्वनि संयोजन, सुजिल कर्माचार्यको पृष्ठभूमि सङ्गीत (बिजिएम) र पुकार धिमालको भिएफएक्स रहेको छ । रोहित राज गौतम एचओपी र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर छन् ।
फिल्मको डिजिटल साझेदार ओएसआर डिजिटल रहेको छ । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले फिल्मलाई देशव्यापी वितरण गरेको छ ।






प्रतिक्रिया