सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कात्तिक २० गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पाँच पाण्डव’ बक्सअफिसमा कमजोर देखिएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार प्रदर्शनको पहिलो १० दिनमा फिल्मले ५० लाख रुपैयाँ पनि कमाउन सकेको छैन । बोर्डको तथ्याङ्कअनुसार फिल्मले आइतबारसम्म १२ हजार २९४ वटा टिकट बिक्री गर्दै ४३ लाख ५० हजार ४८३ रुपैयाँ ग्रस कमाइ गरेको छ ।
यसैबीच, कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ५’को व्यापार भने १३ करोड रुपैयाँ नजिक पुगेको छ । बोर्डको तथ्याङ्कअनुसार कात्तिक २९ गतेसम्म फिल्मले १२ करोड ९४ लाख १५ हजार ४३७ रुपैयाँ ग्रस कमाइ गरेको छ । सोही अवधिमा फिल्मका चार लाख २२ हजार ८८० वटा टिकट बिक्री भएका छन् । यो यस वर्ष सर्वाधिक कमाइ गर्ने दोस्रो नेपाली फिल्म हो ।
‘कबड्डी ५’पछि दोस्रो ठूलो व्यापार गर्ने फिल्म ‘पेन्सन पट्टा’ बनेको छ । यसले आइतबारसम्म १० करोड ३५ लाख ७८ हजार ४७८ रुपैयाँ ग्रस कमाइ गर्दै तीन लाख ६४ हजार ५२० वटा टिकट बिक्री गरेको छ । रोचक कुरा के छ भने ‘कबड्डी ५’ र ‘पेन्सन पट्टा’ दुवैमा दयाहाङ राई मुख्य भूमिकामा छन् । यस वर्ष एउटै अभिनेताका दुई फिल्मले लगातार १० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको यो पहिलो पटक हो ।
दसैँमा प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘आ बाट आमा २’ले सर्वाधिक कमाइ गरेको छ । फिल्मले दुई लाख ४१ हजार ९६ वटा टिकट बिक्री गर्दै ६ करोड ९१ लाख ३७ हजार ३१२ रुपैयाँ ग्रस कमाइ गरेको छ ।
दसैँमा प्रदर्शन भएका फिल्मको व्यापारमा दोस्रो स्थानमा ‘छ माया छपक्कै २’ छ । यसले तीन करोड ४३ लाख १७ हजार ४५ रुपैयाँ ग्रस कमाइ गरेको छ । त्यस्तै, ‘१२ गाउँ २’ले दुई करोड ३२ लाख ९६ हजार ३७१ रुपैयाँ ग्रस कमाइ गर्दै तेस्रो स्थान हासिल गरेको छ ।






प्रतिक्रिया