सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता महेश त्रिपाठी र अभिनेत्री सिम्रन खड्का मुख्य भूमिकामा रहने नेपाली फिल्म ‘छायाँको जीत’को शुभमुहूर्त गरिएको छ । मंगलबार काठमाडौंको मैतीदेवी मन्दिरमा क्यामेरा तथा कथा पूजा गर्दै निर्माण पक्षले फिल्मको औपचारिक सुरुवात गरेको हो ।

भारतीय निर्देशक शिव शोहितको निर्देशनमा तयार हुने फिल्म विशुद्ध प्रेमकथामा आधारित रहनेछ । जिथ्रीएस फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा महेश र सिम्रनसँगै विजय देउजा, इच्छा सिंह, कविता आले, सुदीप पौडेल, राजु कार्की, प्रतीक चौधरी, मनोज भेटवाल तथा बालकलाकार अनामा बम र केशव रोकायालगायतको अभिनय रहनेछ ।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी मंसिर ४ गतेदेखि सुरु हुनेछ । ३० दिनको छायांकन तालिका तय गरिएको फिल्मका अधिकांश दृश्य काठमाडौं उपत्यकामा खिचिनेछन्।

फिल्मको कथा तथा पटकथा निर्देशक शोहित स्वयंले तयार पारेका हुन् । भारतीय मनोरञ्जन क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव बटुलेका शोहितले ‘मृगजा’ (२०२२), ‘तेरी लाडली मैं’ (२०२१) र ‘लाल इश्क’ (२०१८) लगायतमा काम गरिसकेका छन् । उनले ‘क्राइम पेट्रोल डायल १००’, ‘फियर फाइल्स’ र ‘प्यार के पापड’ जस्ता टेलिभिजन धारावाहिकमा समेत काम गरेका छन् ।

फिल्मका निर्माता सुदीप पौडेल र कार्यकारी निर्माता अनुप ढकाल हुन् । उत्सव दाहालले छायांकन निर्देशनको जिम्मेवारी सम्हाल्नेछन् भने संगीतमा योगेश काजी र शिव शोहितको संयुक्त योगदान रहनेछ। फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गर्नेछन् ।

त्यस्तै, सुजन केसी सहनिर्माता, ईश्वर घिमिरे निर्माण व्यवस्थापक, रोयल भीमसेन प्रचार सामग्री तथा पोस्टर डिजाइन प्रमुख र रोशन दीवाना कला निर्देशकका रूपमा फिल्ममा आबद्ध छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com