सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भारतीय फिल्म ‘रामायण’ ले भारतीय बक्स अफिसमा आफ्नो आक्रामक व्यापारिक रफ्तारलाई दोस्रो हप्तामा पनि कायमै राखेको छ । फिल्मले रिलिजको १२औँ दिन (दोस्रो सोमबार) सम्म आइपुग्दा हिन्दी संस्करणबाट मात्रै कुल ६ सय ३० करोड २३ लाख भारतीय रुपैयाँ (नेट) कमाइ गर्न सफल भएको छ ।

चर्चित भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, बिदाको समय सकिएर नियमित दिन सुरु हुँदा पनि फिल्मले सोमबार मात्र २५ करोड भारुको शानदार कलेक्सन गरेको छ । सोमबारको परीक्षामा फिल्मले २० करोडभन्दा माथिको व्यापार गर्नु अनिवार्य मानिएको थियो, जसमा ‘रामायण’ सहजै सफल देखिएको छ ।

दोस्रो हप्ताको चार दिनको कमाइ हेर्दा फिल्मले शुक्रबार ३७ करोड ५० लाख, शनिबार ५७ करोड, आइतबार ५८ करोड र सोमबार २५ करोड भारु बटुलेको छ । सामान्य दिनमा पनि देखिएको यो बलियो पकडले फिल्मको विषयवस्तु (कन्टेन्ट) को शक्ति र दर्शकको अपार साथलाई प्रमाणित गरेको विश्लेषण गरिएको छ।

आगामी शुक्रबार बक्स अफिसमा अन्य कुनै ठूला फिल्म रिलिज नहुने भएकाले ‘रामायण’ लाई आफ्नो कमाइको आँकडा अझै उचाइमा पुर्‍याउन अर्को एक हप्ताको स्पष्ट अवसर मिलेको छ । दोस्रो हप्ताको अन्त्यसम्ममा फिल्मले बक्स अफिसमा थप ऐतिहासिक कीर्तिमान बनाउने अपेक्षा गरिएको छ।

नितेश तिवारी निर्देशित भारतीय पौराणिक महाकाव्य ‘रामायण’मा आधारित फिल्ममा रणवीर कपुर भगवान् राम, साई पल्लवी सीता र यश रावणको भूमिकामा छन्। त्यस्तै, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा देखिनेछन्। ठूलो बजेटमा निर्माण भइरहेको फिल्म दुई भागमा तयार पारिएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com