सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गायक अनिल सिंह यतिबेला चर्चामा छन् । उनले धुम्रपानले आफ्नो स्वास्थ्यमा पारेको गम्भीर असरबारे खुलेर कुरा गर्दै युवापुस्तालाई धुम्रपान त्याग्न आग्रह गरेका छन् । पप संगीतमा कुनै समय निकै लोकप्रिय रहेका अनिलको धुम्रपान र मदिराका कारण सांगीतिक यात्राले अपेक्षित गति लिन नसकेको चर्चा हुँदै आएको छ ।

कुनै समय काठमाडौंका तन्नेरीहरूको प्रिय गायक बनेका अनिलका पुराना गीत आज पनि उत्तिकै लोकप्रिय छन् । अस्ट्रेलियामा सांगीतिक भ्रमणमा रहेका उनले आफ्ना चर्चित गीत प्रस्तुत गर्दा दर्शकले पनि स्वरमा स्वर मिलाएका थिए । उनका गीत दर्शकका लागि प्रिय मात्रै नभई शब्दसमेत कण्ठ थिए ।

सांगीतिक माहोलकै बीच अनिलले अत्यधिक धुम्रपानका कारण आफ्नो स्वास्थ्यमा परेको असरबारे चर्चा गर्दै जनचेतना फैलाउने प्रयास गरे । धुम्रपानकै कारण चिकित्सकले आफ्नो खुट्टा काट्नुपर्ने अवस्था आउन सक्ने बताएको खुलाउँदै उनले युवापुस्तालाई समयमै धुम्रपान त्याग्न सुझाव दिए । अनिल हाल अस्ट्रेलिया भ्रमणमै छन् ।

पप संगीतका ‘रकस्टार’

गीतसंगीतमा अनिल सिंहको आफ्नै पहिचान छ । विशेषगरी पप गायनमा उनको नाम स्थापित छ । डेढ दशकअघि उनका गीतमा नझुम्ने श्रोता कमै थिए । अहिले पनि उनका गीत सुन्दा दर्शक तथा श्रोता उत्तिकै उत्साहित हुने गरेका छन् । गायन शैली र प्रस्तुतिका कारण उनले तत्कालीन समयमा ‘रकस्टार’को उपाधिसमेत पाएका थिए। उनका गीतका मुख्य श्रोता युवापुस्ता थिए ।

आफैँ गीत गाउने र संगीत सिर्जना गर्ने भएकाले अनिलको छुट्टै प्रशंसक समूह छ । ‘गीतसंगीतसँगै अन्य कामहरू पनि छन्। सबै योजना अनुसार नै अगाडि आउनेछन्,’ अनिलले भने । उनले गीतसंगीतको बदलिँदो प्रवृत्तिलाई अध्ययन गर्न आवश्यक रहेको बताउँदै यही कारण केही समय कन्सर्टमा मात्रै केन्द्रित भएको पनि सुनाए।

उनले आफ्ना चर्चित गीत ‘इन्जिन गाडीमा’ र ‘आई लभ यू’लाई सुरुमा कन्सर्टमार्फत मात्रै प्रस्तुत गर्ने योजना बनाएका छन् । उपत्यकाका व्यस्त क्लबहरूमा कन्सर्ट गर्ने तयारी छ।

केही समय स्टेज प्रस्तुतिमा मात्रै सीमित रहेका अनिल अब गीतसंगै स्टेजमा पनि सक्रिय हुने योजनामा छन् । ‘हामीले एउटा समयमा गरेको कामसँगै अहिले अपडेट भएर, ट्रेन्ड बुझेर आउनुपर्छ,’ उनले भने । उनले गीतसंगीतबाहेक अन्य विविध काममा पनि आफू सक्रिय रहेको बताएका छन्। ‘आई लभ यू’, ‘प्रेम पत्र’, ‘डुब्न देऊ’, ‘इन्जिन गाडीमा’, ‘प्रेमिका’ र ‘मैले जानी सकेँ’ लगायत उनका दर्जनभन्दा बढी गीत लोकप्रिय छन्।

यद्यपि, उनले विगतमा आफ्ना गीत युट्युबका लागि तयार गरेका थिएनन् । अब भने उनी युट्युबमा पनि सक्रिय हुने तयारीमा छन् । आफ्ना गीत तथा गतिविधि दर्शकमाझ पुर्‍याउने उद्देश्यले उनले ‘म्युजिक स्टेट’ नामक च्यानल सञ्चालनमा ल्याएका छन्। ‘म युट्युबका लागि नयाँ छु। यसको लोकप्रियता बढेपछि म गीतसंगीत लिएर आएको छैन। अब भने सक्रियता बढाउँदैछु,’ उनले भने।

(केहि समय अगाडी अनिलसँग गरिएको कुराकानीमा आधारित )

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com