सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । चौथो संस्करणको ‘कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव (किफ)’ आगामी फागुन २३ गतेदेखि सुरु हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिँदै आयोजकले दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै किफको शुभारम्भ गरिने जनाएको छ ।

महोत्सवअन्तर्गत फागुन २४ गते सुर्खेतस्थित होटल शुभमा कर्णाली पर्यटन तथा फिल्म संवाद र विशेष फिल्म प्रदर्शन गरिनेछ । सोही दिन ‘कर्णाली हेरौँ, कर्णाली घुमौँ’ भिडियो प्रतियोगितासमेत आयोजना हुनेछ ।

‘कर्णाली अन्तर्राष्ट्रिय फिल्म अवार्ड समारोह २०८४’ साल वैशाख ११ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिनेछ । त्यसपछि सन् २०२७ को मे महिनामा भारतको सिक्किम र सिलिगुडीमा नेपाल-भारत पर्यटन तथा फिल्म सहकार्य संवाद आयोजना गरिने महोत्सव निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए ।

कर्णालीलाई फिल्म पर्यटनको गन्तव्य र छायांकनको केन्द्र बनाउने लक्ष्यसहित महोत्सव आयोजना हुँदै आएको छ । आयोजकका अनुसार कर्णालीमा पर्यटन र फिल्म क्षेत्रको प्रचुर सम्भावना भए पनि यस क्षेत्रमा गतिविधि अपेक्षाकृत न्यून छन् । त्यहाँका कथा, जीवनशैली, भाषा, भेषभूषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा राज्यको भूमिका कमजोर रहेको आयोजकको भनाइ छ ।

‘जनजनमा नेपाली फिल्म, मनमनमा नेपाली फिल्म’ नाराका साथ महोत्सवले ‘गन्तव्य कर्णाली’ अभियान अघि बढाएको छ । कर्णालीका पर्यटकीय तथा धार्मिक स्थल र छायांकनका सम्भावित स्थानलाई देश-विदेशका फिल्म निर्माता तथा निर्देशकसम्म पुर्‍याउनु महोत्सवको प्रमुख उद्देश्य रहेको छ । पर्यटन र जलवायु परिवर्तनको सन्देश दिने फिल्मलाई विशेष सम्मान तथा प्रोत्साहन गरिने आयोजकले जनाएको छ ।

महोत्सवले कर्णालीका स्थानीय कलाकार तथा फिल्मकर्मीको पहिचान र प्रोत्साहन, गाउँगाउँमा नेपाली फिल्म प्रदर्शन, फिल्म साक्षरता अभियान तथा फिल्म क्षेत्रका चुनौतीबारे बहस र छलफल गर्ने योजना बनाएको छ ।

चौथो कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सवको घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, गुराँस गाउँपालिका दैलेखका प्रमुख टोपबहादुर बिसी, कलाकार दीपकराज गिरी, निर्देशक आकाश अधिकारी, किफका सद्भावना दूत प्रदीप खड्का, निर्माता प्रेम पुरीलगायतको उपस्थिति थियो।

महोत्सव निर्देशक चक्रबहादुर चन्दले यसपटक पनि फिल्म पर्यटन र जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकताका साथ अघि बढाइने बताए। किफका सद्भावना दूत प्रदीप खड्काले महोत्सवले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्दै आएको र आगामी दिनमा यसलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे। फिल्म र पर्यटनलाई सँगसँगै अघि बढाउन महोत्सव सधैँ अग्रभागमा रहने उनको भनाइ थियो।

अभिनेता तथा निर्देशक दीपकराज गिरीले आफू काठमाडौंको रैथाने भए पनि कर्णालीले सधैँ आकर्षित गर्ने गरेको बताए। उनले आगामी दिनमा कर्णालीमै फिल्म छायांकन गर्न सकिने सम्भावना रहेको पनि उल्लेख गरे।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com