सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । निर्माता तथा निर्देशक करण जोहरको चर्चित च्याट शो ‘कफी विथ करण’ स्क्रिप्टअनुसार सञ्चालन हुने गरेको आरोप लागेको छ । अभिनेत्री शनाया कपूरको एउटा भ्यानिटी तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि शोको वास्तविकतामाथि प्रश्न उठाइएको हो ।

शोको नवौँ सिजनको छैटौँ एपिसोडमा पाहुनाका रूपमा सहभागी भएकी शनायाको उक्त तस्बिरमा टेबलमाथि ‘र्‍यापिड फायर : शनाया कपूर’ लेखिएको एउटा कागज देखिन्छ । त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शो पहिल्यै तयार पारिएको स्क्रिप्टअनुसार सञ्चालन हुने गरेको आरोप लगाएका छन् ।

भाइरल तस्बिरमा शनाया मेकअप गराइरहेकी देखिन्छिन् । उनीसामु रहेको भ्यानिटी टेबलमा एउटा कागज राखिएको छ । उक्त कागजमा ठूला अक्षरमा ‘र्‍यापिड फायर : शनाया कपूर’ लेखिएको देखिन्छ भने त्यसको तल साना अक्षरमा केही विवरण उल्लेख छन् ।

तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बहस सुरु भएको छ । वर्षौंदेखि रमाइलो र तत्काल दिइने जवाफका लागि चर्चित र्‍यापिड फायर राउन्डसमेत पहिल्यै तय गरिएको स्क्रिप्टअनुसार सञ्चालन हुने गरेको भन्दै केही दर्शकले असन्तुष्टि व्यक्त गरेका छन्। कतिपयले यसलाई दर्शकमाथिको धोका भन्दै टिप्पणी गरेका छन् ।

यद्यपि, भाइरल तस्बिरमा कागजको तल्लो भागमा लेखिएका साना अक्षर स्पष्ट देखिँदैनन्। त्यसैले उक्त कागजमा र्‍यापिड फायरका प्रश्न तथा उत्तर थिए वा सामान्य नोट मात्र थिए भन्ने पुष्टि हुन सकेको छैन।

अर्कोतर्फ, केही प्रयोगकर्ताले च्याट शोमा पाहुनालाई पहिल्यै केही विषय वा प्रश्नबारे जानकारी गराउँदैमा पूरै कार्यक्रम स्क्रिप्टेड हुन्छ भन्न नमिल्ने तर्क गरेका छन्। यस विषयमा शोका प्रस्तोता करण जोहर र अभिनेत्री शनाया कपूरले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

शनाया हालै आफ्नो वेब सिरिज ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’ को चर्चाबीच ‘कफी विथ करण सिजन ९’ को छैटौँ एपिसोडमा सहभागी भएकी थिइन्। उक्त एपिसोडमा उनीसँगै अभिनेत्री अनन्या पाण्डे र अनन्या बिर्ला पनि पाहुनाका रूपमा सहभागी भएका थिए।

एपिसोड प्रसारण हुनुअघि सार्वजनिक गरिएको प्रोमोमा अनन्या पाण्डेले अभिनेता कार्तिक आर्यनलाई फोन गरेकी थिइन्। पूर्वप्रेमीका रूपमा चर्चामा रहेका कार्तिकसँगको उनको कुराकानीले पनि निकै चर्चा पाएको थियो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com