सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत शुक्रबार अर्थात् मङ्सिर ४ गतेदेखि नेपालमा प्रदर्शनमा आएका दुई फिल्म ‘हिमालयन गोल्ड’ र ‘जलाकी’ ले घरेलु बजारमा दर्शक आकर्षित गर्न सकेका छैनन्। दुवै फिल्मको सुरुआती व्यापार कमजोर देखिएको छ। ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’ लाई विषयवस्तुका हिसाबले राम्रो प्रतिक्रिया मिलिरहेको भए पनि दर्शकको उपस्थिति भने उत्साहजनक देखिएको छैन।
बक्स अफिस स्रोतका अनुसार मंसिर ४ गतेदेखि प्रदर्शनमा आएको फिल्मले मंसिर ७ गते सोमबारसम्म २३ लाख रुपैयाँ मात्र कमाइ गरेको छ। उक्त अवधिमा फिल्मका ६ हजार ६२२ टिकट बिक्री भएका छन्।
पहिलो फिल्म ‘खुस्मा’ को सफलतापछि सोही टिमले निर्माण गरेको ‘जलाकी’ बक्स अफिसमा भने कमजोर देखिएको हो। फिल्ममा उपासना सिंह ठकुरी र सोनम तोप्देनसँगै शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु) र लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ।
यस्तै, दिवंगत अभिनेता सुनिल थापाको अन्तिम फिल्मका रूपमा प्रदर्शनमा आएको ‘हिमालयन गोल्ड’ को बक्स अफिस अवस्था पनि दयनीय देखिएको छ। धिराज राजवंशी निर्देशित फिल्मले मंसिर ७ गते सोमबारसम्म घरेलु बजारबाट आठ लाख रुपैयाँको हाराहारीमा मात्र कमाइ गरेको छ। उक्त अवधिमा फिल्मका एक हजार ७६६ टिकट मात्र बिक्री भएका छन्।
फिल्ममा दिवंगत अभिनेता थापासँगै राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा र कार्मलगायत कलाकारको अभिनय रहेको छ। यी दुवै फिल्मको पहिलो सप्ताहन्तको व्यापार हेर्दा आगामी साता पनि बक्स अफिसमा चुनौती सामना गर्नुपर्ने देखिन्छ। यसैबीच, प्रदर्शनरत अर्को फिल्म ‘बाटुलो जुन’ ले ११ दिनमा घरेलु बजारबाट आठ करोड ३५ लाख रुपैयाँ कमाइ गरेको छ।






प्रतिक्रिया