सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दाना यतिबेला आफ्नो आगामी फिल्म ‘मैसा’ लाई लिएर चर्चामा छिन् । दर्शकहरू फिल्मको प्रतीक्षामा रहँदा रश्मिकाले पनि यसको प्रचारप्रसार सुरु गरिसकेकी थिइन्। तर, प्रदर्शनको पाँच दिनअघि नै निर्माताहरूले फिल्मको रिलिज मिति स्थगित गर्ने घोषणा गरेका छन्।
फिल्म आगामी नोभेम्बर २७ मा हलमा प्रदर्शन हुने तयारीमा थियो। रोचक कुरा त के छ भने अभिनेत्री रश्मिका मन्दानालाई समेत फिल्मको नयाँ रिलिज मितिबारे जानकारी छैन। फिल्मका निर्माता तथा निर्देशक रविन्द्र पुल्लेले आइतबार इन्स्टाग्राममा संयुक्त वक्तव्य जारी गर्दै रिलिज मिति स्थगित गरिएको जानकारी दिएका हुन्।
वक्तव्यमा निर्माताहरूले तेलुगु फिल्म उद्योग अहिले निकै रोमाञ्चक चरणबाट गुज्रिरहेको उल्लेख गरेका छन्। उत्कृष्ट प्रविधि र कलात्मक प्रस्तुतिमार्फत फिल्महरूले निरन्तर नयाँ मापदण्ड स्थापित गरिरहेको उनीहरूको भनाइ छ।
निर्माताका अनुसार ‘मैसा’ लाई विशेष तथा प्राविधिक रूपमा उत्कृष्ट एक्सन फिल्मका रूपमा तयार पारिएको छ। दर्शकलाई ठूलो पर्दामा फरक र विशेष अनुभव दिने उद्देश्यले फिल्म निर्माण गरिएको उनीहरूले बताएका छन्।
फिल्म निर्माणको यही उद्देश्य र गुणस्तरमा कुनै सम्झौता नगर्ने हेतुले नोभेम्बर २७ को प्रदर्शन मिति पछि सार्ने सामूहिक निर्णय गरिएको वक्तव्यमा उल्लेख छ।यद्यपि, फिल्मको नयाँ प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन। निर्माताहरूले चाँडै नै नयाँ मिति घोषणा गर्ने र दर्शकले धेरै समय कुर्नु नपर्ने बताएका छन्।
निर्माताहरूले रिलिज स्थगित भएको घोषणा गरेपछि रश्मिका मन्दानाले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा उक्त वक्तव्य साझा गरेकी छन्। उनले रमाइलो शैलीमा आफूलाई समेत फिल्मको नयाँ रिलिज मितिबारे जानकारी नभएको बताएकी छन्।
रश्मिकाले लेखेकी छन्, ‘लाग्छ, फिल्मको रिलिज मिति पछाडि सारिँदै छ। कहिले रिलिज हुन्छ भन्ने मलाई थाहा छैन। तर, मलाई थाहा हुनेबित्तिकै तपाईंहरूलाई पनि अवश्य जानकारी दिनेछु।’
फिल्ममा रश्मिकासँगै ईश्वरी राव, राहुल रविन्द्रन, समुद्रखनी, राव रमेश, शिवा कन्दुकुरी, कार्तिक रञ्जिनी, तारक पोन्नप्पा र निधि सिंहलगायत कलाकारको अभिनय रहेको छ।






प्रतिक्रिया