सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सन् १९७५ मा डकुमेन्ट्री मेकरका रूपमा आफ्नो करियर सुरु गरेका निर्देशक प्रकाश झा बलिउडका परिचित निर्देशक हुन् । बिहारमा हुर्किएका उनले आफ्नो फिल्मी यात्रामा सामाजिक तथा राजनीतिक विषयवस्तुलाई प्राथमिकताका साथ उठाउँदै आएका छन् ।

विशेषगरी सामाजिक र राजनीतिक मुद्दालाई फिल्ममार्फत आम दर्शकमाझ पुर्‍याउने निर्देशकका रूपमा झाको छुट्टै पहिचान छ । विवाह र सामाजिक व्यवस्थामा विद्यमान समस्यादेखि राजनीतिक विकृतिसम्मका विषयलाई उनले आफ्ना फिल्ममा प्रस्तुत गर्दै आएका छन् ।यद्यपि, आफूले राजनीतिक मुद्दामा बहस गर्न नभई कथा भन्नका लागि फिल्म बनाउने गरेको झा बताउँछन् ।

‘मैले फिल्ममार्फत कथा भनेको हुँ, कुनै बहस अगाडि ल्याएको होइन,’ उनले भने, ‘तर दर्शकलाई त्यस्तो लाग्छ भने ठिकै छ ।’ सामाजिक विषयवस्तुलाई पर्दामा ल्याउन रुचाउने झा आफूलाई सधैँ सरकारको विपक्षमा उभिने व्यक्तिका रूपमा लिन्छन् । भारतको लोकसभा निर्वाचनमा समेत सहभागिता जनाइसकेका उनले व्यवस्थाप्रतिको आफ्नो असन्तुष्टि फिल्ममार्फत अभिव्यक्त गर्ने गरेको घुमाउरो शैलीमा स्वीकार गरे ।

‘सायद, मैले नेता बनेर गर्न चाहेका केही कुरा फिल्ममार्फत भनेको हुन सक्छु,’ एक जिज्ञासामा उनले जवाफ दिए । यद्यपि, सरकारको विपक्षमा उभिएकै कारण आफू राष्ट्रिय पुरस्कारबाट वञ्चित हुने गरेको भन्दै उनले दुःख व्यक्त गरे ।

पछिल्लो समय एक वेब सिरिजको छायाङ्कन सकेका झा अब नयाँ फिल्मको तयारीमा छन् । उनले ‘जनादेश’ नामक फिल्म दर्शकमाझ ल्याउने बताएका छन् । उनले फिल्मको छायांकन पुरा गरिसकेका छन् । फिल्म संवत आगामी वर्ष सन् २०२७ मा प्रदर्शन हुनेछ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com