सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मार्भलले आफ्नो बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स : डुम्सडे’लाई भव्य रूपमा तयार गरेको छ । फिल्ममा मुख्य खलनायक डक्टर डुमको पृष्ठभूमि र उनलाई रोक्न एभेन्जर्स तथा एक्स-मेनले गर्ने प्रयासलाई प्रस्तुत गरिएको छ । डक्टर डुमको भूमिकामा रोबर्ट डाउनी जुनियर देखिँदैछन्। भिक्टर भोन डुमलाई मार्भलले आफ्ना पछिल्ला फिल्मका खलनायकभन्दा निकै शक्तिशाली रूपमा चित्रण गरेको छ।
डक्टर डुमलाई रोक्न स्यु स्टर्म अर्थात् भेनेसा किर्बीले म्याग्नेटोको भूमिकामा रहेका इयान म्याककेलेन, स्टिभ रोजर्सको भूमिकामा क्रिस इभान्स, साङ-चीको भूमिकामा सिमु लिउ, शुरीको भूमिकामा लेटिसिया राइट, थोरको भूमिकामा क्रिस हेम्सवर्थ र ग्याम्बिटको भूमिकामा च्यानिङ टेटमसँग संवाद गरेको देखिन्छ। त्यस्तै, रिड रिचर्ड्स अर्थात् पेड्रो पास्कलले डुमलाई यस विनाशका लागि जिम्मेवार रहेको हो कि भनेर प्रश्न गर्छन्।
यो फिल्म बुझ्न मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू)का केही पुराना फिल्म र सिरिजबारे जानकारी हुनु आवश्यक छ। विशेषगरी मल्टिभर्सको अवधारणा बुझ्न ‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ महत्त्वपूर्ण फिल्म हो ।
मार्भल सिनेम्याटिक युनिभर्सको आफ्नै विशेषता छ । यहाँ सुपरहिरो छन्, खलनायक पनि छन् । यस संसारमा रमाउने दर्शकका आफ्नै प्रिय पात्र छन्। बाल्यकालमा कमिक बुक्समा पढेका पात्रलाई ठूलो भएपछि पर्दामा देख्न पाउँदा मार्भलका दर्शकको आकर्षण बढ्दै गएको हो। डिजिटल प्रविधिको विकाससँगै सुपरहिरोका कथालाई अझ भव्य रूपमा प्रस्तुत गर्न थालिएपछि यसको लोकप्रियता थप विस्तार भएको छ।
तर, पछिल्लो समय मार्भलका पुराना सुपरहिरोहरू एकपछि अर्को गर्दै एमसीयूबाट बाहिरिएका छन्। आइरन म्यान, क्याप्टेन अमेरिका र ब्ल्याक विडोजस्ता लोकप्रिय पात्रको बिदाइ दर्शकका लागि सहज थिएन। अहिले स्पाइडर म्यान, डक्टर स्ट्रेन्ज, थोर र हल्कजस्ता पात्र दर्शकका प्रिय छन्।
पुराना सुपरहिरोहरू बाहिरिँदै गर्दा नयाँ पात्रले प्रवेश पाए पनि मार्भलका फिल्मले पुरानै उचाइ कायम गर्न सकेका छैनन्। कोरोना महामारीपछि ओटीटी प्लेटफर्मको लोकप्रियतालाई ध्यानमा राख्दै मार्भलले आफ्ना पात्रको कथा फिल्मसँगै सिरिजमार्फत पनि विस्तार गरिरहेको छ। पात्रको पृष्ठभूमि देखाउनेदेखि नयाँ सुपरहिरोलाई दर्शकमाझ स्थापित गराउने प्रयास भइरहेको छ।
यसले गर्दा अहिले मार्भलको एउटा फिल्म मात्र हेरेर त्यसको सम्पूर्ण कथा बुझ्न सहज छैन। फिल्म र सिरिजबीचको सम्बन्ध बुझ्दै अगाडि बढ्नुपर्ने अवस्था छ। यही कारण ‘एभेन्जर्स : डुम्सडे’मा पुराना तथा नयाँ सुपरहिरोलाई एकसाथ ल्याउने प्रयास गरिएको छ। ‘एभेन्जर्स : एन्डगेम’पछि मार्भलले निर्माण गर्न लागेको यो अर्को महत्त्वपूर्ण समूहगत फिल्म हो।
मल्टिभर्स बुझ्न किन आवश्यक छ ‘डक्टर स्ट्रेन्ज २’ ?
बेनेडिक्ट कुम्बरब्याच अभिनीत फिल्म ‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ बुझ्न त्यसअघि आएका केही फिल्म र सिरिजमा फर्किनुपर्ने हुन्छ। मार्भलले मल्टिभर्सको अवधारणा ‘वान्डाभिजन’ सिरिजमार्फत प्रस्तुत गरेको थियो। त्यसपछि ‘स्पाइडर म्यान : नो वे होम’मा पनि यसलाई निरन्तरता दिइयो।
त्यसैले ‘डक्टर स्ट्रेन्ज २’ बुझ्न ‘स्पाइडर म्यान : नो वे होम’ हेर्नु उपयोगी हुन्छ। यसका साथै ‘वान्डाभिजन’ र ‘लोकी’ सिरिजले पनि मल्टिभर्सको अवधारणा बुझ्न सहयोग गर्छन्। यद्यपि, ‘डक्टर स्ट्रेन्ज २’को कथा विशेषगरी ‘वान्डाभिजन’ र ‘स्पाइडर म्यान : नो वे होम’सँग जोडिएको छ।
‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’को कथा ‘स्पाइडर म्यान : नो वे होम’मा सिर्जना भएको घटनाक्रमसँग जोडिन्छ। स्पाइडर म्यानका कारण अर्को युनिभर्सका पात्रहरू यस संसारमा आइपुग्छन्। उनीहरूलाई आ-आफ्नो युनिभर्समा फर्काउने क्रममा भएको गल्तीले थप समस्या निम्त्याउँछ।
फिल्ममा अमेरिका नामकी एक पात्र छिन्, जसमा आफ्नो शक्तिका कारण विभिन्न युनिभर्समा यात्रा गर्न सक्ने क्षमता हुन्छ। तर, उनले आफ्नो शक्तिलाई नियन्त्रण गर्न जानेकी हुँदैनन्। त्यसैले उनी कहिले र कुन युनिभर्समा पुग्छिन् भन्ने कुरा आफैँलाई थाहा हुँदैन।
यही क्रममा उनको भेट डक्टर स्ट्रेन्जसँग हुन्छ। आफ्नै पूर्वप्रेमिकाको विवाह समारोहमा सहभागी भइरहेका स्ट्रेन्जले अमेरिकालाई संकटबाट जोगाउँछन्। त्यसपछि उनको शक्तिबारे जानकारी पाएसँगै त्यसलाई प्राप्त गर्न खोज्ने अन्य पात्रबाट अमेरिकाको रक्षा गर्ने जिम्मेवारी पनि स्ट्रेन्जले लिन्छन्।
आफूले देखिरहने सपना अर्को युनिभर्सको वास्तविकता हुन सक्ने थाहा पाएपछि डक्टर स्ट्रेन्ज आफ्नो एभेन्जर्स सहकर्मी वान्डा म्याक्सिमफकहाँ पुग्छन्।
आफ्नो शक्तिको प्रयोग गरेर वान्डाले भिजन र आफ्ना दुई सन्तानका लागि छुट्टै संसार बनाएकी हुन्छिन्। वास्तविक संसारमा आफ्नो परिवारसँग रहन नपाएपछि उनले आफ्नै युनिभर्स निर्माण गरेकी हुन्छिन्। तर, त्यस संसारमा पनि उनी सधैँ रहन सक्दिनन्। यही कारण वान्डामा अमेरिकाको शक्ति प्राप्त गरेर अर्को युनिभर्समा आफ्ना सन्तानसँग बस्ने चाहना जाग्छ।
विश्वको रक्षकका रूपमा चिनिएकी वान्डा आफ्ना सन्तानका लागि जे पनि गर्न तयार हुन्छिन्। त्यसपछि फिल्मको मुख्य द्वन्द्व डक्टर स्ट्रेन्ज र वान्डाबीच केन्द्रित हुन्छ। यही संघर्ष फिल्मको मुख्य आकर्षण हो।
हरर र थ्रिलरको स्वादमा डक्टर स्ट्रेन्ज
फिल्मलाई निर्देशक साम राइमीले निर्देशन गरेका हुन्। ‘स्पाइडर म्यान’ सिरिजका तीन फिल्म निर्देशन गरेर चर्चामा आएका राइमीले यसमा पनि आफ्नो विशिष्ट शैलीलाई निरन्तरता दिएका छन्।
‘स्पाइडर म्यान ३’मा थ्रिलरसँगै हररको स्वाद मिसाएका राइमीले ‘डक्टर स्ट्रेन्ज २’मा पनि त्यही प्रयोग गरेका छन्। उनले मल्टिभर्सको कथालाई थ्रिल र हररको शैलीमा प्रस्तुत गरेका छन्। यद्यपि, फिल्म पूर्ण रूपमा हरर जनरामा आधारित छैन। यसमा जादु, आत्मा र अलौकिक शक्तिका पक्षलाई पनि देखाइएको छ।
फिल्ममा केही अप्रत्याशित दृश्य र पात्रको प्रवेशले दर्शकलाई आश्चर्यमा पार्छ। यस्ता प्रसंगले मार्भलका आगामी फिल्मसँग कथालाई जोड्ने काम पनि गरेका छन्।
मार्भलका सुपरहिरोहरू विस्तारै दर्शकसँग भावनात्मक रूपमा जोडिँदै गएका छन्। उनीहरू केवल शक्तिका आधारमा मात्र युद्ध जित्दैनन्, आफ्नो बुद्धि र रणनीतिको प्रयोग पनि गर्छन्। तर, निर्देशक राइमीले फिल्मलाई गाढा र डार्क शैलीमा प्रस्तुत गरेकाले केही पात्रका संवेदना दर्शकसम्म सहज रूपमा पुग्न सकेका छैनन्।
भिएफएक्समार्फत पात्र र घटनालाई भव्य रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। तर, फिल्मको तीव्र गतिका कारण दर्शकलाई सबै पात्रसँग भावनात्मक रूपमा जोडिन केही कठिनाइ हुन्छ।
बेनेडिक्ट कुम्बरब्याचसँगै एलिजाबेथ ओल्सेन, चिवेटेल इजियोफोर र बेनेडिक्ट वङको मुख्य भूमिका रहेको यस फिल्मले मार्भलका दर्शकलाई फरक स्वाद दिएको छ। निर्देशक राइमीले मार्भलको स्थापित शैलीभन्दा केही फरक प्रयोग गर्ने प्रयास गरेका छन्।
मार्भलका पुराना दर्शकका लागि विशेष
‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ हेर्नुअघि ‘वान्डाभिजन’, ‘लोकी’ र ‘ह्वाट इफ…?’ जस्ता सिरिज हेर्दा कथाको पृष्ठभूमि बुझ्न सहज हुन्छ। विशेषगरी ‘वान्डाभिजन’ले वान्डाको चरित्र र उनको पारिवारिक अवस्थाबारे जानकारी दिन्छ। यसले उनी किन यस्तो निर्णयमा पुगिन् भन्ने बुझ्न मद्दत गर्छ।
त्यस्तै, ‘स्पाइडर म्यान : नो वे होम’ले मल्टिभर्सको घटनाक्रम र डक्टर स्ट्रेन्जको भूमिकालाई बुझ्न सहयोग गर्छ।
मार्भल सिनेम्याटिक युनिभर्सका पुराना दर्शकका लागि यो फिल्म निराशाजनक नहुन सक्छ। तर, यही फिल्मबाट पहिलोपटक एमसीयूको संसारमा प्रवेश गर्न चाहने दर्शकका लागि भने केही जटिल हुन सक्छ। किनकि यसमा देखिने पात्रको कथा यही फिल्मबाट सुरु हुँदैन। उनीहरूको पृष्ठभूमि र अघिल्ला घटनाक्रम बुझ्न एमसीयूका पुराना फिल्म तथा सिरिज हेर्नुपर्ने हुन्छ।
मार्भलको विशेषता नै पात्र र कथालाई एकअर्कासँग जोडेर ठूलो संसार निर्माण गर्नु हो। यही शैलीले दर्शकलाई एउटा फिल्मपछि अर्को फिल्म हेर्न प्रेरित गरिरहेको छ।






प्रतिक्रिया