सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चैत्रको २७ गते नयाँ वर्षको छेको पारेर रिलिज हुन लागेको चलचित्र ‘राम नाम सत्य’ चर्चामा छ । यो चलचित्र चैत्र २७ गते सोलो रिलिज हुने पक्का भएको छ । यो मितिमा आउने भनिएका अन्य नेपाली चलचित्र अब पोष्टपोन्ड भएपछि माइकल चन्द निर्देशित चलचित्रले सोलो रिलिजको अवसर पाएको हो । चलचित्रमा समावेश ‘धागोले बाटेको, हुम्लाको लिमी’ बोलको गीत चर्चामा छ । यस्तै, चलचित्रको टिजरले पनि दर्शकको साथ पाइरहेको छ ।
यो चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायतका कलाकारहरुको अभिनय छ ।
यसैबिच, नायिका दिव्या रायमाझीले चलचित्र ‘राम नाम सत्य’लाई लिएर आफ्नो उत्साह व्यक्त गरेकी छिन् । दिव्या भन्छिन्–‘म चलचित्रलाई लिएर निकै उत्साहित छु । मैले पहिले गरेको काम भन्दा भिन्न तरिकाले म आएको छु । काम पनि मैले धेरै देखाउन पाएको छु ।’

चलचित्रमा दिव्याले आधुनिक राजकुमारीको भूमिकामा देखिन लागेको खुलासा गरिन् । दिव्या भन्छिन्–‘चलचित्रमा एक्सन भरपुर छ । तर, यो एक्सन चलचित्र मात्र होइन । यसमा इमोशन छ, सस्पेन्स छ, प्रेम छ । सबै कुरा मिलेर एउटा उत्कृष्ट फिल्म बनेको छ ।’
दिव्याले चलचित्र गज्जब बनेको बताउँदै भनिन्–‘मैले मेरो चलचित्र भनेर भनेको होइन । चलचित्र एकदमै राम्रो बनेको छ । दर्शकले यो फिल्म हेरेर भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने विश्वास छ ।’
यो चलचित्रमा दिव्या सुशीलको जोडीको रुपमा छिन् । दिव्याले सुशीलसँग काम गर्न निकै सहज भएको खुलाइन् ।
माइकल चन्दको पटकथा तथा संवाद समेत रहेको यो चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ ।




प्रतिक्रिया