सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आधुनिक फिल्म प्रदर्शनका लागि विकसित गरिएको अत्याधुनिक प्रविधि हो ‘आइम्याक्स’। साधारण पर्दाभन्दा निकै ठूलो पर्दा, उच्च गुणस्तरका क्यामेरा तथा प्रक्षेपण प्रणाली, शक्तिशाली ध्वनि प्रणाली र उत्कृष्ट दृश्य गुणस्तर यसको विशेषता हुन् । विशेषगरी ‘आइम्याक्स’कै लागि छायांकन गरी तयार पारिएको फिल्म यस्तो प्रविधियुक्त हलमा हेर्दा दृश्य अझ जीवन्त, विस्तृत र वास्तविकजस्तै अनुभव हुने दर्शकको भनाइ छ ।

विश्वभर लोकप्रिय ‘आइम्याक्स’ प्रविधियुक्त हल नेपालमा भने छैन । नेपालमा यस्तो हल नभएकै कारण ‘आइम्याक्स’ प्रविधिमा नेपाली फिल्म प्रदर्शन हुने कुरा कल्पनाभन्दा परको विषयजस्तै थियो । तर करिब तीन वर्षअघि नेपाली फिल्म ‘गोर्खा वारियर’ बेलायतको लन्डनस्थित लेस्टर स्क्वायरमा रहेको ‘आइम्याक्स सिने वर्ल्ड’मा प्रदर्शन भयो ।

बेलायतमा आफ्नो छुट्टै प्रभाव छाड्न सफल गोर्खा सैनिकको कथामा आधारित ‘गोर्खा वारियर’ पहिलोपटक ‘आइम्याक्स’ प्रविधिमा प्रदर्शन हुने नेपाली फिल्म बन्यो । पूर्वगोर्खा सैनिकसमेत रहेका निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्ममा सन् १९४९ मा मलायाको जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको युद्धको कथा प्रस्तुत गरिएको छ ।

भारतीय फिल्मले समेत विशेष प्रदर्शनको अनुमति पाउन संघर्ष गर्नुपर्ने लेस्टर स्क्वायरको ‘आइम्याक्स’मा नेपाली फिल्म प्रदर्शन हुनु नेपालको लागि गौरवको विषय थियो । तर त्यसका लागि निर्देशक चाम्सले लामो समयदेखि प्रयास गर्नुपरेको थियो । निर्देशक चाम्सका अनुसार विदेशी फिल्मको विशेष प्रदर्शन हुँदा नेपाली फिल्म पनि त्यहाँ प्रदर्शन गर्ने र नेपाली कलाकारलाई त्यहाँको रातो कार्पेटमा हिँडाउने उनको लामो समयदेखिको सपना थियो ।

‘विदेशी कलाकार र उनीहरूले अभिनय गरेको फिल्मको तामझाम हेर्दा एक दिन म आफैं यहाँ नेपाली फिल्म ल्याउँछु भन्ने लाग्थ्यो । त्यसका लागि मैले फिल्म निर्देशन गरेदेखि नै प्रयास नगरेको होइन। तर ‘आइम्याक्स’ प्रविधियुक्त हलको आफ्नै नियम हुन्छ। त्यसै कारण सुरुआती दिनमा आफ्ना फिल्म त्यहाँ प्रदर्शन गर्न सकिनँ’, उनले भने ।

‘गोर्खा वारियर’भन्दा अगाडि निर्देशक चाम्सले निर्देशन गरेका अन्य नेपाली फिल्मको विशेष प्रदर्शनका लागि गरिएको प्रस्ताव ‘आइम्याक्स सिने वर्ल्ड’ले अस्वीकार गर्दै आएको थियो । हलले फिल्मको विषयवस्तु, भाषा, प्राविधिक पक्षलगायत विभिन्न विषयलाई आधार बनाउने गरेको चाम्सले बताए ।

‘लन्डनमा रहेको आइम्याक्समा विशेष प्रदर्शन गर्न पैसा भएर मात्र हुँदैन। उनीहरूले कुन भाषा, कलाकार वा कम्पनीको फिल्म हो भन्ने पनि हेर्छन्। त्यहाँ खर्च गर्न सक्ने क्षमता भएर मात्र पुग्दैन, धेरै कुरा मिलाउनुपर्छ। मैले ‘गोर्खा वारियर’को विशेष प्रदर्शन गर्न पाउनुको मुख्य कारण गोर्खालीप्रति बेलायतीको सम्मान र हाम्रो वीरताको गाथा नै हो’, उनले भने।

एक वर्षको तयारी

पटकपटकको प्रयास असफल भएपछि निर्देशक चाम्सले ‘गोर्खा वारियर’लाई ‘आइम्याक्स’ प्रविधिमा प्रदर्शन गर्न एक वर्षअघिदेखि नै तयारी थालेका थिए । उनले गोर्खा सैनिकको वीरताको कथामा बनेको फिल्म विशेष प्रदर्शन गर्न चाहेको उल्लेख गर्दै हल व्यवस्थापनलाई पत्र लेखे। बेलायतमा नेपाली तथा गोर्खा सैनिकप्रति रहेको सम्मानका कारण अन्ततः हलले फिल्म प्रदर्शनका लागि समय उपलब्ध गराएको चाम्सले बताए।

तर प्रदर्शनको समय तय भएपछि पनि आर्थिक र प्राविधिक पक्ष मिलाउन उनलाई निकै चुनौती भयो। ‘गोर्खा सैनिकको कथा नभएको भए सायद विशेष प्रदर्शनको अनुमति पाउने थिएनौं । त्यसपछि रातो कार्पेट गरिने स्थानमा रहेका पसलहरूसँग सहमति लिनुपर्छ। त्यहाँ आउने विशिष्ट अतिथिका लागि सुरक्षा व्यवस्था चुस्त बनाउनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा, हामीले आफ्नै प्रविधिमा तयार गरेको फिल्मलाई ‘आइम्याक्स’ प्रविधिमा रूपान्तरण गर्नुपर्छ। यी सबै सपना पूरा गर्न धेरै रात अनिदो बसेर काम गरेको छु’, उनले भने ।

नेपाली फिल्म लेस्टर स्क्वायरमा विशेष प्रदर्शन हुने खबरले लन्डनमा समेत चर्चा पाएको थियो । लेस्टर स्क्वायर विभिन्न फिल्म हल, नाटक मञ्चन हुने रंगमञ्चलगायत कलासँग सम्बन्धित गतिविधिका लागि प्रसिद्ध छ । लन्डन मात्र नभई इंग्ल्यान्डकै फिल्म केन्द्रका रूपमा परिचित उक्त स्थानमा नेपाली फिल्मको प्रदर्शनले नेपाली फिल्मको बजार विस्तारको सम्भावनाबारे समेत चासो बढाएको थियो ।

त्यहाँ पुग्ने फिल्मप्रेमीले नेपाली फिल्म प्रदर्शन हुँदैछ भन्ने थाहा पाएपछि त्यसबारे चासोपूर्वक जानकारी लिने गरेको निर्देशक चाम्सले बताए । ‘मैले २० वर्षअघि देखेको यो सपना पूरा गरें। त्यसको प्रभाव नेपालमा के कस्तो पर्यो, त्यो भन्न सक्दिनँ। तर नेपाली फिल्म अत्याधुनिक प्रविधिसहित बेलायतको मुख्य स्थानमा प्रदर्शन भयो, जहाँ विश्वका चर्चित निर्देशकका फिल्म प्रदर्शन हुन्छन्। यसले कालान्तरमा सम्पूर्ण नेपाली फिल्मलाई टेवा पुर्‍याउनेछ’, उनले भने।

‘आइम्याक्स सिने वर्ल्ड’मा प्रदर्शन गर्ने तय भएपछि निश्चित शुल्क लिएर हल व्यवस्थापनले नै ‘गोर्खा वारियर’लाई ‘आइम्याक्स’ प्रविधिमा रूपान्तरण गरेको चाम्सले जानकारी दिए। लन्डनमा भएको उक्त प्रदर्शनको चर्चा अझै हुने गरेको छ ।

‘गोर्खा वारियर’बाट पूरा भयो दशक लामो सपना

नेपाल र नेपालीको शान बढाउने उक्त प्रदर्शन आगामी दिनमा कहिले दोहोरिन्छ भन्ने स्पष्ट छैन । आर्थिक पक्षसँगै विभिन्न प्राविधिक तथा व्यवस्थापकीय पक्ष मिलाउनुपर्ने भएकाले त्यहाँ अर्को नेपाली फिल्म प्रदर्शन गर्न सहज नभएको निर्देशक चाम्स बताउँछन् ।

निर्देशक चाम्सले व्यावसायिक पक्षभन्दा आफ्नो लामो समयदेखिको सपना पूरा गर्ने उद्देश्यले फिल्मलाई ‘आइम्याक्स’मा प्रदर्शन गराउन निरन्तर मेहनत गरेका थि ए। उनका अनुसार फिल्म तयार पारेर त्यहाँ प्रदर्शन गर्न झन्डै एक दशकको समय लागेको थियो ।

‘म आफैं पूर्वसैनिक भएकाले हाम्रो वीरताको कथा विश्वभर देखाउने एउटा सपना थियो, त्यो पूरा गरें। त्यसक्रममा मैले गरेको संघर्षलाई ‘आइम्याक्स’मा प्रदर्शन भएको दिन बिर्साइदियो। एउटा इतिहास बनेको छ। हामी गोर्खालीको वीरता त्यहाँ विश्वभरका फिल्मकर्मीले हेरेका छन्। यसले आगामी दिनमा नेपाली फिल्मलाई पक्कै सहयोग गर्नेछ’, चाम्सले भने ।

‘गोर्खा वारियर’मा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरूप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् । विसं २०८० फागुनमा नेपालमा प्रदर्शन भएको फिल्ममा वास्तविकजस्तै लाग्ने युद्धका दृश्य प्रस्तुत गरिएको भन्दै प्रशंसा भएको थियो ।

नेपालमा पछिल्लो समय नेपाली फिल्मले प्राविधिक रूपमा ठूलो फड्को मारेका छन् । नेपाली कथा र फिल्म विश्वका प्रतिष्ठित फिल्म महोत्सवसम्म पुग्न थालेका छन् । तर ‘आइम्याक्स’ प्रविधि नेपालमा कहिले भित्रिन्छ भन्ने प्रश्नको स्पष्ट उत्तर भने अझै छैन । यस्तो प्रविधि जडान गरेर हल सञ्चालन गर्न निकै ठूलो लगानी आवश्यक पर्ने भएकाले नेपालमा ‘आइम्याक्स’ हल निर्माणको विषय चुनौतीपूर्ण मानिन्छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com