सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ अब ओटीटी प्लेटफर्ममा आउने भएको छ। नेपालमा सफलतापूर्वक प्रदर्शन हुँदै करिब १० करोड रुपैयाँको व्यापार गर्न सफल फिल्मले घरेलु बजारमा ५१औँ दिनको प्रदर्शनसमेत पूरा गरेको थियो।
आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको फिल्म ‘लालीबजार’ डिगो एपमार्फत विश्वभर एकसाथ रिलिज हुने भएको हो। षट्कोण आर्ट्सको निर्माण रहेको फिल्मलाई दर्शकले रुचाएका छन्। विभिन्न कारणले डायस्पोरा बजारमा प्रदर्शन हुन नसकेको फिल्मलाई डिगो एपमार्फत विश्वभर रहेका नेपाली दर्शकमाझ पुर्याउन लागिएको निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले बताए।
‘फिल्म प्रदर्शनको समयमा विभिन्न कारणले डायस्पोराका धेरै स्थानमा प्रदर्शन गर्न सकेनौँ। हामीलाई सामाजिक सञ्जालमार्फत फिल्म प्रदर्शनबारे निरन्तर जिज्ञासा आइरहेको थियो। अब केही दिनमै डिगो एपमार्फत विश्वभर रहेका नेपालीमाझ पुग्दैछौँ,’ बानियाँले भने।
उनले षट्कोण आर्ट्सका फिल्म सामाजिक दायित्वसँगै मनोरञ्जनलाई प्राथमिकतामा राखेर निर्माण हुने बताए। ‘हामीले यस फिल्ममा शिक्षाको ज्योतिले समाजमा पार्ने प्रभावलाई चित्रण गरेका छौँ,’ उनले भने।
फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टललगायतका कलाकारको अभिनय छ। यही फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन्।
यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा तथा संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।







प्रतिक्रिया