सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा–श्री सम्मान प्रदान गरेको छ । ललितपुरमा आइतबार आयोजित समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकका लेखक वीणा जोशी राजभण्डारीलाई मदन पुरस्कार र गीतकार किरण खरेललाई जगदम्बा–श्री सम्मान प्रदान गरेका हुन् ।
विसं २०१२ मा स्थापित मदन पुरस्कार र विसं २०४५ मा स्थापित जगदम्बा–श्री सम्मान दसैँको घटस्थापनाका दिन प्रदान गर्ने परम्परा छ। दुवै पुरस्कारको राशि जनही चार लाख रुपैयाँ रहेको छ।
मदन पुरस्कार विजेता वीणा जोशी राजभण्डारीले आफ्नो १४ सय पृष्ठको पुस्तक नेपाली कला तथा संस्कृतिका अध्यापक, अध्येता, साधक र शोधार्थीका लागि प्रामाणिक ग्रन्थ बन्ने विश्वास व्यक्त गरिन्।
यो सम्मानले लोपोन्मुख रैथाने परम्परा, अमूल्य नाच, बाजा र तिनसँग जोडिएका दर्शनलाई नयाँ पुस्तामाझ प्राज्ञिक बहसमा ल्याउने दायित्व आफूलाई सुम्पिएको उनले बताइन्।
जगदम्बा–श्री सम्मान प्राप्त गीतकार किरण खरेल विसं २०१४ देखि गीत लेखनमा सक्रिय छन्। पुरस्कार ग्रहण गर्दै उनले गीतलाई हृदयको ढुकढुकीको संज्ञा दिए।
‘मेरो दृष्टिमा गीत हृदयको ढुकढुकी हो। एउटा शिशुलाई जन्म दिएजस्तै गीतकारले एउटा गीत रचना गर्दछ,’ खरेलले भने, ‘संगीतकारले त्यसको स्याहारसुसार र शृंगार गर्दछ। अनि, गायिका वा गायकले त्यसलाई वाणी दिन्छ। यसरी एउटा गीत अस्तित्वमा आउँछ।’
समारोहमा विद्वत् प्रवचन दिँदै विपुलेन्द्र चक्रवर्तीले नेपालको मति र माटोको गतिको कारुणिक कथा राष्ट्रिय जीवनको कटु यथार्थ बनेको उल्लेख गरे। यस विषयमा गम्भीर विवेचना आवश्यक रहेको उनको भनाइ थियो। उनले सुनसरीको कप्तानगञ्जलगायतका घटनाले अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको छवि प्रभावित भएको बताए।
‘आर्य-अनार्य, शाक्त–शैव, वैष्णव–शैव, बौद्ध-सनातनीजस्ता भेदलाई चिर्दै मानवीय करुणा र कल्याणका लागि समता र समावेशी शैलीलाई नेपाली समाज र संस्कृतिले धेरै पहिलेदेखि अङ्गीकार गरेको छ,’ चक्रवर्तीले भने।
रातो बंगला स्कुलकी शिक्षक सुधा ओझाले सञ्चालन गरेको कार्यक्रममा गुठीका उपाध्यक्ष कल्पना पराजुलीले धन्यवाद ज्ञापन गरेपछि समारोह समापन भएको थियो।
२०८२ सालको मदन पुरस्कारका लागि २९८ पुस्तक प्राप्त भएका थिए। तीमध्ये १० पुस्तक उत्कृष्ट सूचीमा परेका थिए। उत्कृष्ट सूचीमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, वीणा जोशी राजभण्डारीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ थिए।
तस्बिरहरु : बिकास रौनियार



















प्रतिक्रिया