सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – रिलिज मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले प्रचार–प्रसार अभियानलाई अझ तीव्र बनाएको छ । चलचित्र युनिट अहिले देशका विभिन्न स्थानमा पुगेर दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत भइरहेको छ । यही शृङ्खलामा शुक्रवार साँझ पोखराको फेवा ताल किनारमा ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईँ’ शीर्षकको भव्य कार्यक्रम सम्पन्न भयो ।

फेवा किनारको हल्लनचोकमा आयोजित सो कार्यक्रममा चर्चित गायक तथा चलचित्रका गीत निर्देशक सुजन चापागाईँले हजारौँ दर्शकबीच आफ्नो सजीव प्रस्तुति दिए । उनले ऊनको स्वीटर का गीतहरू ‘मखमली’, ‘काफ्ले’, ‘फूल’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गरे । साथै, सोही दिन प्रसिद्ध लोकगायक स्व. झलकमान गन्धर्वको ९०औँ जन्म जयन्तीको अवसर पारेर उनले झलकमानलाई समर्पित विशेष प्रस्तुति समेत दिए । झलकमान सारङ्गी पाठशालाका विद्यार्थीहरूसँग उनले ‘बाला जोबन’ गीत गाएका थिए । सो अवसरमा झलकमानको परिवार र सारङ्गी पाठशालालाई सम्मानसमेत गरियो । पाठशालाका बाल कलाकारहरूले सारङ्गी वादन प्रस्तुत गर्दै दर्शकको मन जिते ।

कार्यक्रममा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, नव–कलाकार एलेक्स पारस, कलाकार माओत्से गुरुङ, निर्देशक नवीन चौहान, कार्यकारी निर्माता मिलन खत्री, वितरक पुष्कर घिमिरे, मिडिया एक्जिक्युटिभ जीवन पराजुली लगायतको उपस्थिति थियो ।

कार्यक्रमकै अवसरमा फिल्मका तीन नयाँ पोस्टरहरू सार्वजनिक गरियो । अभिनेता विपिन कार्कीले दर्शकलाई सम्बोधन गर्दै चलचित्र ऊनको स्वीटर मौलिक बनेको बताउँदै हलसम्म पुगेर हेर्न अनुरोध गरे । कलाकार माओत्से गुरुङले आफू सधैँ राम्रो ब्यानरको फिल्ममा काम गर्न चाहने बताउँदै आर्टमान्डूको अफर सजिलै स्वीकारेको उल्लेख गरे ।
निर्देशक नवीन चौहानले आर्टमान्डूका गीतहरूले जस्तै चलचित्रले पनि दर्शकलाई सन्तुष्टि दिने विश्वास व्यक्त गर्दै वैशाख २६ गते रिलिज मितिको पर्खाइ गर्न आग्रह गरे ।

नायिका परीक्षा लिम्बुले दर्शकमाझ देखिएको उत्साहबाट आफू उत्साहित भएको बताइन् भने, यही चलचित्रमार्फत अभिनय यात्रा सुरु गरेका एलेक्स पारसले दर्शकमाझ प्रत्यक्ष रूपमा आउन पाउनु ठुलो खुसी भएको बताए । एलेक्स यसअघि आर्टमान्डूकै गीत ‘फूलथुङ्गे रानी’मा अभिनय गरेर चर्चा कमाएका थिए ।

कार्यक्रमको आकर्षणको रूपमा एलेक्स र परीक्षाले ‘काफ्ले’ गीतमा रमाइलो नृत्य प्रस्तुत गरे । साथै, पोखरा कला केन्द्रका कलाकारहरूले पनि आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । अब ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’को अर्को शृङ्खला यही वैशाख १८ गते धरानमा हुँदैछ ।

वैशाख २६ गते विश्वव्यापी रिलिज हुने चलचित्र ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक चलचित्र हो । विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको यस चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय रहेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com