सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘डोरी’का निर्देशक अरुण लामाले दोस्रो चलचित्र ‘तथास्तु’निर्माण गर्ने भएका छन्। उनले एक पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेका हुन्।
सार्वजनिक गरिएको पोस्टरमा चलचित्रको छायांकन अर्को वर्ष अर्थात २०८३को सुरुवातमा हुने छ भने प्रदर्शन भने सन् २०२७मा हुनेछ।.जी. सेभेन प्रोडक्सन् प्रा.लि’को प्रस्तुति रहने यो चलचित्रका निर्देशक लामाले ‘तथास्तु’ केवल फिल्म नभई कर्म, भाग्य र आन्तरिक रूपान्तरणको कथा भएको बताए। उनका अनुसार चलचित्रले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्व प्रस्तुत गर्नेछ। साथै,‘सिमुलेसन थ्योरी’ को पृष्ठभूमिमा दुई लोक — भगवानको लोक र मानिसहरूको लोकबीचको कथा समेटिनेछ।
निर्देशक लामाले चलचित्रको ‘तथास्तु’ राख्नुको कुरालाई समेत अथ्र्याएका छन्। उनले भने,‘यो शब्दको अर्थ हो, जसरी तपाईंले चाहनुभयो, त्यसैगरी होस्। तर के हामीले चाहेका सबै कुरा साँचिकै ठीक हुन्छन् त? के हामी त्यसको लागि तयार छौं त? जीवनमा प्राप्तिभन्दा बुझाइ महत्वपूर्ण हुन्छ। तपाईंले मागेको कुरा तब मात्र सार्थक हुन्छ, जब तपाईं त्यसलाई ग्रहण गर्न तयार हुनुहुन्छ।’
निर्देशक लामाले चलचित्रमा नयाँ पुस्ताका चर्चित कलाकारहरू,नेपाल र भारतका अप्रत्याशित तर सक्षम अनुहारहरू, स्थापित कलाकार तथा उदाउँदा प्रतिभाहरूलाई स्थान दिने बताए। नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने यो चलचित्रको छायांकन नेपाल र भारतमा हुनेछन्।
चलचित्रको सुटिङ पनि दुई चरणमा गरिने निर्देशक लामाले बताए। यसअघि निर्देशक लामाले चलचित्र ‘डोरी’निर्माण गरेका थिए। जुन चलचित्रले गतिलो व्यापार गर्न सकेन। अरुण लामाले आफ्नो डेब्यु चलचित्र ‘डोरी’ प्रजातन्त्र समर्थक आन्दोलनको कारण दर्शकसम्म पुग्न नसकेको बताए। उनले थपे,‘हलहरू सुनसान हुँदा फिल्मले अपेक्षित व्यावसायिक सफलता पाउन सकेन। तर जसले हेरे, प्रायः सबैले मन पराए।’
प्रतिक्रिया