सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चर्चित टेलिभिजन सिरियल भद्रगोल निर्माण तथा निर्देशन गरेका चर्चामा आएका अर्जुन घिमिरे (पाँडे) निर्देशक बनेका छन् । उनले बिहीबार साउन १५ अर्थात् खीर खाने दिनको अवसर पारेर ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा डेव्यु निर्देशकिय चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गरेका हुन् ।

गतवर्षसम्म उनी चर्चित टेलिभिजन सिरियल सक्किगोनि निर्माण तथा निर्देशन गरिरहेका थिए । गत वर्षको फागुन १३ मा उनको टिम जेपिटी क्रियसनले निर्माण ‘लाज शरणम्’ प्रदर्शनमा आएको थियो । यो चलचित्रमा अर्जुन घिमिरे (पाँडे)ले मुख्य भूमिकामा अभिनय समेत गरेका थिए । उक्त चलचित्र बक्सअफिसमा हिट भएपछि उनी आफै निर्देशनमा अग्रसर भएका हुन् ।

‘झरीपछिको इन्द्रेणी’मा सक्किगोनि टिमबाट प्रियाना आचार्य (मुन्नी)लाई मात्र समावेश गरेका छन् । अन्य कलाकार पनि कथाले मागेको खण्डमा भित्रिन सक्ने चलचित्रको मुहूर्तपछि मिडियासँगको कुराकानीमा निर्देशक पाँडेले बताए । यो चलचित्रबाट करिब ९ वर्षपछि कलाकार गणेश उप्रेतीले नेपाली रजतपटमा कमव्याक गर्दैछन् । एउटा राम्रो टिमबाट कमव्याक गर्न पाउँदा आफु निकै उत्साहित रहेको कलाकार उप्रेती बताउँछन् ।

यो चलचित्रमा गणेश र प्रियानासहित निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रमा अर्जुन घिमिरे (पाँडे)को अभिनय रहने कि नरहने भन्ने खुलाइएको छैन् । शुभमुहूर्तसँगै आजैबाट छायांकन सुरु गरिएको चलचित्र काठमाडौं, ललितपुर र भक्तपुरमा खिचिनेछ ।

पारिवारिक कथावस्तुमा निर्माण हुने सिनेमाको छायांकन सेड्युल ४५ दिनको रखिएको छ । चलचित्रमा कुमार व्यञ्जनकार (कुमार बेन)को कथा तथा अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहेको छ ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रलाई बुद्ध थापाले छायांकन र सुशील कडरियाको लगानी रहनेछ । रास्वापा नेता गणेश कार्कीको समेत गीत रचना रहने चलचित्रको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहने जनाइएको छ । चलचित्रको शुभमुहूर्तमा समेत बालेन पत्नी सविना काफ्ले उपस्थित भएर सफलताको शुभकामना समेत दिएकी थिइन् ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com