सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘सतीदेवी’को आउँदो शनिबार अर्थात साउन ३१ गते (१६ अगस्त) अमेरिकाको भर्जिनीयामा बिशेष प्रदर्शनी गरिदैछ । महिलाहरुको महान पर्व तीजको अबसर पारेर नारीहरुको सम्मानमा ‘सतीदेवी’ को बिशेष शो गर्न लागीएको जानकारी आयोजक पुष्कर पन्तले दिएका छन् ।
लामो समयदेखि अमेरिका बसोबास गर्दै आए तापनि नेपाली चलचित्र निर्माण,कलाकारिता तथा समाजसेवामा समेत उत्तिकै सक्रिय पुष्कर पन्तले राष्ट्रियलगायत थुप्रै अवार्ड बिजेता चर्चित चलचित्र भएकाले आफूहरुले बिशेष शो गर्न लागेको बताए । ‘‘सतीदेवी’ को धेरै चर्चा सुनेको र यसप्रकारका मौलिक अनि पारिवारिक चलचित्र अझै बन्नु र धेरैभन्दा धेरैले हेर्नुपर्छ भन्ने मान्यता स्वरुप बिशेष शो गर्ने निर्णय गरेका हौ’, उनले भने, ‘हामी जो जहाँ रहे तापनि नेपाली कला, संस्कृति, मौलिकता र आफ्नोपन बचाइराख्नका लागि हरेकले आफ्नो तर्फबाट केही न पहलकदमी लिनैपर्छ । सोही अन्तर्गत चर्चित चलचित्र शो गर्न लागेका हौ ।’ एभरेष्ट सूर्य बोहरा निर्देशीत हिट फिल्म ‘ठूली’ का निर्माता पन्त आफूहरु ‘सतीदेवी’ हेर्न निकै आतुर रहेको बताउँछन् ।
चलचित्र बिकास बोेर्डद्वारा आयोजीत राष्ट्रिय चलचित्र अवार्ड–०८० मा बिशेष चलचित्र पुरस्कार जित्न सफल नारी प्रधान चलचित्र ‘सतीदेवी’ ले अहिलेसम्म राष्ट्रियसहित एक दर्जन उत्कृष्ट अवार्डहरु जितिसकेको छ । लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्रमा मलिका महत, रमेश बुढाथोकी, सन्दिपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बालकलाकार हर्षिका वली र मञ्जिला बानीयाँलगायतले अभिनय गरेका छन् ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयासँगको सहकार्यमा दिलासा कृएसनको प्रस्तुति रहेको चलचित्रको निर्मातामा दिलासा, सारा, श्रीदेवी र बिशाल सुवेदी छन् । निर्देशक सुवेदीले ‘सतीदेवी’ को भर्जिनीयापछि अन्य स्टेटहरुमा पनि बिशेष शो हुन लागेको जानकारी दिएका छन् ।
प्रतिक्रिया