सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – घटस्थापनाबाट  रिलिज भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ अब ओटीटी प्लाटफर्ममा रिलिज हुने भएको छ । निर्माता निश्चल बस्नेतले आफ्नो सामाजिक संजाल बाट हलको प्रदर्शनलाई स्थगित गर्दै एम एस एम भिडियो प्लाटफर्म मार्फत चलचित्र आउने जानकारी दिएका छन् । निर्माता निश्चल बस्नेतले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै विहीवार, कार्तिक १ गतेदेखि आफ्नो चलचित्र नेपालका सबै सिनेमा हलबाट उतारिने घोषणा गरेका छन् ।

हलहरुले शो वितरणमा विभेद गरेको भन्दै असन्तुष्ट भएर केही दिनअघि हलको विकल्प खोज्ने आशय व्यक्त गरेका निर्माता बस्नेतले फेसबुक पोस्टमा चलचित्रको हल रिलिजलाई स्थगित गर्नुपर्ने कुरा राखिसकेका थिए ।

बस्नेतले लेखेका छन्- ‘हलमा हेरीदिनुहुने सबै दर्शकहरुलाई धेरै धेरै धन्यबाद । सम्मानजनक शो उपलब्ध गराउनु भएकोमा QFX Cinemas लाई धेरै धेरै धन्यवाद । भोलिबाट (OCTOBER 17) हाम्रो फिल्म नेपालको सबै हलबाट हामीले नलगाउने निर्णय गरेका छौं । हाम्रो अवस्थालाई बुझिदिनु भएकोमा DCN, APPLE ENTERTAINMENT र OSR DIGITAL लाई पनि धन्यवाद । OTP को समस्या समाधान गर्दै अब चाँडै भेट्नेछौं MSM VIDEO मार्फत । APP DOWNLOAD गर्दै गर्नुस् है ।’

चलचित्रमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको साथमा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतको अभिनय रहेको छ । चलचित्रले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्नेछ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय चलचित्र हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । चलचित्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

चलचित्र ‘बेहुली फ्रम मेघौली’ असोज १७ गतेबाट रिलिज भएको हो  ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com