सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बालबालिकालाई आफ्नो काम आफै गर्न सिकाउने शैक्षिक चेतनामूलक बालगीत “आफूसित आफै दङ्ग” रामबाबु सुवेदी अफिसियल नामक युटुब च्यानलबाट सार्वजनिक भएको छ | गीतले बालबालिकालाई समयको सदुपयोग गर्ने प्रेरणा प्रदान गर्दछ | बालसाहित्यकार रामबाबु सुवेदीको शब्दरचना रहेको यस गीतलाई दीपक शर्माले सङ्गीत भर्नुभएको छ | यसमा नरेन्द्र वियोगीको सङ्गीतसंयोजन छ | आर्यभ डङ्गोल, पारिका श्रेष्ठ, ओश्ना छेत्रीसहित यस बालगीतमा डियरवाक सिफल स्कुलका बालबालिकाले गायन र अभिनयमा आफ्नो कला प्रस्तुत गरेका छन् | प्रस्तुत भिडियोमा समयको महत्त्व बुझ्नुपर्छ, स्वस्थ रहनुपर्छ, फुर्तिलो हुनुपर्छ भन्ने भाव रहेको छ |

आज एक कार्यक्रमका साथ डियरवाक स्कुलमा उक्त गीतको भिडियो विमोचन गरिएको छ | विमोचन समारोहमा बोल्दै गीतकार रामबाबु सुवेदीले बालबालिकाहरूले गीत हेरेर, सुनेर असल बानीको बिकाश गरून् भनी यो सिर्जना रचिएको बताउनुभयो | यस्तै कार्यक्रमका अतिथि साहित्यकार प्राज्ञ अमर न्यौपानेले सकारात्मक संदेश दिने यस बालगीत निकै उपयोगी रहेको बताउनुभयो | यस्तै उहाँले यस अडियो र भिडियोमा गायन, अभिनय र नृत्यको सुन्दर संयोजन रहेको पनि उल्लेख गर्नुभयो | उक्त कार्यक्रममा डियरवाक सिफल स्कुलका विद्यार्थी र शिक्षकहरूसहित करुण थापा, कार्तिकेय घिमिरे, ललिता दोषी लगायत बिभिन्न स्रस्टाहरूको उपस्थिति रहेको थियो | अथितिहरूले बालमनोविज्ञानमा आधारित प्रस्तुत गीतिभिडीयोले हाम्रा बालबालिकाहरूमा सकारात्मक उर्जा प्रदान गर्ने विश्वाश व्यक्त गर्नुभयो | डियरवाक स्कुलका अध्यक्ष हितेष कार्कीले रामबाबु सुवेदीका गीत बालबालिकाका निम्ति उत्प्रेरणादायक हुनेहुनाले डियरवाक सिफल स्कुलले अडियो भिडियो निर्माण संयोजन गरेको बताउनुभयो | यस्तै बालगीत परियोजनाको निरन्तरताको निम्ति शुभकामना पनि दिनुभयो |
रामबाबु सुवेदी अफिसियल नामक युटुब च्यानलमा यो समेत गरेर ७४ ओटा भिडियो सार्वजनिक भएका छन् | ति सबै बालगीत सन्देशमूलक, शिक्षामूलक र सिकाइमूलक रहेका छन् | यस भिडियोमा आचार्य गोपालको परिकल्पना र निर्देशन रहेको छ | यस्तै भिडियोमा सुनील भण्डारीको छायाँकन, वीरबहादुर थारुको सम्पादन र प्रवीण अधिकारीको अनुवाद रहेको छ | कार्यक्रम संचालन डियरवाक सिफल स्कुलका नेपाली विभाग प्रमुख तेजप्रसाद काफ्लेले गर्नुभएको थियो |

बालगीत परियोजनाको परिचय
भविष्यका कर्णाधार हाम्रा बालबालिकाहरूलाई कसरी हुर्काउने,बढाउने, सिकाउने, उनीहरूलाई थाहा नै नदिईकन कसरी बुद्धिरन्जन र मनोरञ्जन गराउने हामीले सोच्नुपर्ने र जान्नुपर्ने कुराहरू हुन् | बालमनोविज्ञान अनौठोको हुन्छ | बाल्यावस्थामा परेको प्रभाव जीवनपर्यन्त रहन्छ | कुनै पनि कुरा निर्मल मनमा लेस्सिएपछि लेस्सियो लेस्सियो | त्यो धोएर पनि जाँदैन | बालबालिकालाई गीत र सङ्गीतले ज्यादै छुन्छ | उनीहरूलाई झ्याउँकिरीको झ्याउँझ्याउँ,कोइलीको कुहुँकुहुँ र कीटपतंगहरूको किरिकिरी ज्यादै मनपर्छ यही प्रकृतिसित खेल्दै, गाउँदै उनीहरू वैज्ञानिक बन्छन्, कवि बन्छन्, गायक बन्छन् | हामीले उनीहरूलाई सघाउनुपर्छ, साथ दिनुपर्छ | बालबालिकानिम्ति बालगीत भन्ने मनसायकासाथ हामीले “बालगीत परियोजना” सुरू गरेका हौँ |

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com