सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नयाँ चलचित्र ‘मुनामदनको ब्रेकअप’ को घोषणा भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् ।

पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको चलचित्र ‘गोपी’पछि फेरि सहकार्य हुन लागेको हो । चलचित्रमा हालसम्म कलाकार राज कटवाल मात्र फाइनल भएका छन् । कटवालले पछिल्लोपटक चलचित्र ‘नरसिंहा अवतार’मा अभिनय गरेका थिए ।

निर्देशक लामाका अनुसार बाँकी कलाकारका विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्नेछ । ‘चलचित्रको पटकथामा सुहाउँदो भएकाले कटवाललाई अनुबन्धित गरेका हौं, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुनेगरी छान्ने हाम्रो योजना छ,’ लामाले भने । डेब्यू निर्देशकीय चलचित्र ‘घामपानी’देखि ‘दुखी आत्मा’सम्म ६ वटा चलचित्र निर्देशन गरिसकेका लामा ‘मुनामदनको ब्रेकअप’लाई एक मनोरञ्जक चलचित्रका रुपमा तयार पार्ने सोचमा छन् ।

चलचित्रका लेखक तिमल्सेनाले चलचित्रमा ग्रामीण परिवेशको फरक स्वादको प्रेमकथा हेर्न पाइने गराए । ‘पछिल्लो समय नेपाली चलचित्रमा हेरिँदै आएकाभन्दा भिन्न स्वभावका प्रेमकथा यसमा प्रस्तुत गरिनेछ,’ तिमल्सेनाले भने, ‘अहिले दर्शकलाई हलसम्म तान्न धेरै नै मुश्किल छ, त्यसकारण पटकथामा सक्दो मिहेनत गर्नेछौं ।’

अभिनेता कटवाल ‘मुनामदनको ब्रेकअप’लाई लिएर आफू एकदमै उत्साही भएको बताउँछन् । ‘अघिल्ला चलचित्रहरुमा भन्दा यसमा थप परिष्कृत देखिन मैले आफूलाई निखार्न खोज्दैछु,’ कटवालले सुनाए । चलचित्रको भूमिका आफ्नो लागि चुनौतीपूर्ण रहेको उनको बुझाइ छ ।

कार्यकारी निर्माता पौडेलले कास्कीको ग्रामीण भेगमा चलचित्रको छायांकन गरिने बताए । ‘पटकथा र प्रिप्रोडक्सनको काम पर्फेक्ट भएपछि मात्र छायांकनमा निस्किनेछौं । हामी राम्रो प्रोडक्ट निकाल्न धैर्यका साथ काम गर्नेछौं,’ उनले भने

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com