सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – फरक शैलीमा आएको भोजपुरी फ्ल्लेबरको गीत ‘लड्की गोरी’ले चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को हाइप बढाएको छ । सुरुमा एआई निर्मित भिडियोबाट प्रचार गरिएको चलचित्रको अहिले कन्टेन्ट बाहिर आएका छन् ।

यसैक्रममा एक साता अगाडि रिलिज भएको गीत ‘लड्की गोरी’ले मधेस र मधेसीको चित्रण गर्दै सिनेमाको हाइप बढाएको छ । ११ लाख भ्युज पाइसकेको यो गीतले प्रतिक्रिया पनि राम्रो पाइरहेको छ ।

“म खासै भोजपुरी गीत सुन्दिन । तर, यो अलि रिफ्रेसिङ रहेछ । मजा आयो । प्रेरणा सिङ र प्रशान्त सिवाकोटीको आवाज सारै मिठो । किरण श्रेष्ठको डान्स राम्रो,” तृष्णा घतानीले युट्युमा गीत हेरेर लेखेकी छन् ।

भोजपुरी फ्लेबर भए पनि गीत नेपालीमा छ । भोजपुरी लवजमा रहेको गीतको भिडियो भने टिपिकल भोजपुरीमा छ । बजारमा आइरहेका भन्दा बिलकुल फरक रहेकाले यसैलाई दर्शकले मन पराइरहेका छन् ।

भोजपुरी गीत भन्नबित्तिकै अलि छाडा हुन्छन् । तर, ‘लड्की गोरी त्यस्तो छैन । यसको पनि तारिफ भइरहेको छ । जीवन मल्ल गीत र भिडियो हेरेपछि कमेन्ट गर्छन्, “यो डान्स र अडियो बबाल छ । निड मोर एप्रिसिएसन । छाडा छैन, रमाइलो छ ।”

पछिल्लो समयको ट्रेन्ड हेर्ने हो भने डान्सिङ प्याटर्नका गीत चलिरहेका छन् । यो फूल डान्सिङ नम्बरमा छ, त्यसैले यो गीत दर्शकले मन पराइरहेका छन् । पछिल्लो समय चलचित्र प्रचारको अचुक अस्त्र नै गीत बनिरहेका छन् । यो गीत दर्शकले मन पराउँदा चलचित्र ‘अभिमन्यु’लाई फाइदा भइरहेको छ । त्यसैले यो चलचित्र पनि हिट हुनेमा नन्दु गैरे ढुक्क छन्, “यो गीत हिट भयो भने यो चलचित्र पनि हिट हुन्छ ढुक्क हुनुहोला,” उनले लेखेका छन् ।

नेपाली चलचित्रले तराइबासीलाई उपेक्षा गरेको आरोप लाग्दै आएको छ । तराईको कथा नआउने आए पनि मजाक बनाउने गरेको लेखक, निर्माता र निर्देशकलाई आरोप लाग्दै आएको छ । यसबाट ‘अभिमन्यु’ मुक्त रहेको अनुमान लगाउन सकिन्छ । कन्टेनमा देखिने गरेको मोरङ र तराई भू–भाग, मुख्य कलाकार तराईबासी नै भएकाले तराईको कथा यो चलचित्रले उठान गरेको संकेत छ ।

“यो गीतले गर्दा तराईबासी पनि चलचित्रमा जोडिनसक्ने सम्भावना हुन्छ । निकै नयाँपन अनि मिठो छ,” धनबहादुर कनुवारले लेखेका छन् । तराईको कथा र पात्रलाई सिनेमामा मजाकको पात्र बनाउने गरिएकाले प्राय मधेसी बाहुल्य रहेका क्षेत्रमा नेपाली चलचित्र चल्दैनन् । तर, यो चलचित्र चल्ने र त्यहाँका दर्शकले खुला मनले स्वागत गर्नसक्ने सम्भावना देखिएको छ ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।

चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ ।

पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com