सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ । पाँचौँ सातामा पनि चलचित्र प्रदर्शनरत नेपाली फिल्महरूमा सबै भन्दा बढी शो पाउने चलचित्र बनेको छ । यसले नेपालभर ८१ शो पाएको छ । पाँचौँ सातामा प्राप्त गरेको शो सङ्ख्याले पनि दर्शक चलचित्र प्रति आकर्षित रहेको बुझ्न सकिन्छ । साथै, यसलाई हालसम्म ३ लाख बढी दर्शकले हेरिसकेका छन् । यो वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शन भएका अन्य नेपाली फिल्म भन्दा ‘लालीबजार’ निकै अगाडि देखिएको छ ।
चलचित्रलाई दर्शकको माया निरन्तर प्राप्त भएपछि निर्माण टिम लगातार दर्शकसँग भेटघाट गर्दै प्रतिक्रिया लिईरहेको छ । अभिनेता रवीन्द्रसिंह बानियाँले षट्कोण आर्ट्सका अघिल्ला चलचित्रझैँ ‘लालीबजार’ पनि दर्शकको मन जित्न सफल भएको बताए ।
उनले भने, ‘फिल्म त परिवारले नै हेर्नु पर्ने रहेछ भन्ने लागेपछि अहिले दर्शकहरू आफ्नो परिवार नै लिएर हल आउनुभएको छ । षट्कोण आर्ट्सका फिल्महरू सामाजिक दायित्व बोकेको मनोरन्जनात्मक हुन्छन्, हामीलाई विश्वास गरेर ‘लालीबजार’ हेर्न आउनुभएका दर्शक हलबाट निस्किदै गर्दा सन्तुष्ट पाएका छौँ, यो हाम्रो ठूलो सफलता हो । हामीले शिक्षाको ज्योतिले समाजमा पर्ने प्रभावलाई चित्रण गरेका छौँ, जसलाई दर्शकले मन पराउनुभएको छ ।’
उनले हजुरबुवादेखि नातीपुस्तासम्म हलमा भेटिएको बताए । षट्कोण आटर््स ले यसअगाडि ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरूष’, ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ । ‘लालीबजार’ को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । चलचित्र हेरेर निस्किने अधिकाँसले आफ्नो आँखा रसाएको र आमाको सङ्घर्षसँग आफू ‘कनेक्ट’ भएको प्रतिक्रिया दिएका छन् ।
चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गरेकी छिन् । विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् ।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको चलचित्र ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । चलचित्रमा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।









प्रतिक्रिया