सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’को तेस्रो गीत सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार ‘कलेजीको छेऊ’ बोलको गीत सार्वजनिक गरेको हो। गीतमा सुरेन्द्र रानाको शब्द रचना रहेको छ भने एसडी योगीले संगीत निर्देशन, मिक्सिङ तथा मास्टरिङ गरेका छन्। एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ।

गीतमा बाँसुरीमा रत्न बीके, मादल तथा खैँजडीमा मदन रेग्मी, पञ्चेबाजामा शिशिर परियार र सारङ्गीमा हेमन्त कान्छा रसाइलीले साथ दिएका छन्। गीतको रेकर्डिङ तथा मिक्सिङ सुपरभिजन सागर खड्काले गरेका हुन्।

प्रेमी–प्रेमिकाबीचको गहिरो प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा फिल्मका कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन र खड्कबहादुर पुन (खबपु) लगायत देखिएका छन्। भिडियोमा सोनम र उपासनाको जोडी सुहाएको छ भने अन्य कलाकारको पहिरन तथा हाउभाउले पनि दृश्यलाई स्वाभाविक र रमाइलो बनाएको छ।

यसअघि फिल्ममा समावेश ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीत सार्वजनिक भइसकेका छन्। दुवै गीतले युट्युब तथा टिकटकजस्ता सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षको भनाइ छ। तेस्रो गीतलाई पनि दर्शक तथा स्रोताले उत्तिकै रुचाउनेमा निर्माण पक्ष विश्वस्त छ।

फिल्म आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ। ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाबाट बनाइएको स्तम्भलाई जनाउने शब्द हो। निर्देशक मगरका अनुसार यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा तथा भावनालाई फिल्ममा प्रस्तुत गरिएको छ।

फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायत कलाकारको अभिनय रहेको छ। क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन् भने बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन्।

यसै फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी छन्। एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com