सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपालमा भारतीय कलाकारको लोकप्रियता पुरानो हो । भारतीय फिल्मका दर्शकमाझ अभिनेता देव आनन्ददेखि शाहरुख खानसम्मका कलाकारको छुट्टै क्रेज देखिन्छ । फरक पुस्ताका यी दुई स्टारले आ-आफ्नो समयमा भारतीय फिल्म उद्योगमा बलियो प्रभाव छाडे ।
यी दुई अभिनेताको एउटा रोचक संयोग भनेको उनीहरू नेपालसमेत आएका छन् । अझ रोचक कुरा, सन् १९९७ मा काठमाडौंमा आयोजित भारतीय फिल्मसम्बन्धी विशेष कार्यक्रममा देव आनन्द र शाहरुख खान एकैपटक सहभागी भएका थिए ।
भारतीय फिल्ममा ५० वर्ष पूरा भएको अवसरमा काठमाडौंमा भारतीय दूतावासले आयोजना गरेको ‘भारतीय चलचित्र महोत्सव’मा देव आनन्द, शाहरुख खान, वहीदा रहमान र अभिनेत्री मनीषा कोइरालासहितका कलाकार सहभागी भएका थिए ।
त्यतिबेला शाहरुख खान आफ्नो करिअरको सुरुवाती तर तीव्र रूपमा माथि उक्लिँदै गरेको चरणमा थिए । सन् १९९७ मै उनका ‘दिल तो पागल है’ र ‘परदेश’ जस्ता फिल्म चर्चामा आएका थिए, जसले उनलाई बलिउडको अग्रपंक्तिमा पुर्याउन महत्वपूर्ण भूमिका खेले ।
देव आनन्द भने त्यसबेलासम्म भारतीय फिल्मका स्थापित र दिग्गज स्टारका रूपमा परिचित थिए । पाँच दशकभन्दा लामो अभिनय यात्रामा उनले १ सय १० भन्दा बढी फिल्ममा काम गरेका थिए ।
१८ वर्षपछि फेरि काठमाडौंमा शाहरुख
सन् १९९७ को भ्रमणपछि शाहरुख खान लामो समयपछि सन् २०१५ मा पुनः नेपाल आए । उनी मार्च ९, २०१५ मा निजी विमानबाट काठमाडौं आएका थिए । यसपटक उनको नेपाल भ्रमण फिल्म प्रचारका लागि नभई एक पेन्ट्स अभियान प्रवर्द्धन गर्न केन्द्रित थियो ।
काठमाडौंको हायात रिजेन्सीमा आयोजित कार्यक्रममा उनले वातावरण संरक्षण र प्रयोग भइसकेका पेन्टका डब्बालाई पुनः प्रयोग गर्न प्रोत्साहन गर्ने अभियानको प्रवर्द्धन गरेका थिए ।
शाहरुखको २०१५ को नेपाल भ्रमणमा उनको एक झलक हेर्न ठूलो संख्यामा प्रशंसक सडकमा उत्रिएका थिए । काठमाडौं आएपछि उनले सामाजिक सञ्जालमार्फत नेपालमा आफूलाई प्राप्त भएको माया र स्वागतप्रति खुसी व्यक्त गरेका थिए ।
यसरी हेर्दा देव आनन्द र शाहरुख खान दुवैको नेपालसँग जोडिएको छुट्टाछुट्टै स्मरणीय अध्याय छ । एकातिर भारतीय फिल्मको स्वर्णिम पुस्ताका स्टार देव आनन्द, अर्कोतिर आधुनिक बलिउडका सबैभन्दा लोकप्रिय स्टारमध्येका शाहरुख, दुवैले काठमाडौं आएर नेपाली दर्शकसँग आफ्नो सम्बन्ध थप बलियो बनाएका थिए ।
( लेखक बिकास रौनियार वरिष्ठ फोटो पत्रकार हुन् । यो तस्बिर उनले सन् १९९७ मा भारतीय दुतावासमा आयोजित ‘भारतीय फिल्म महोत्सव’ का क्रममा खिचेका थिए । )









प्रतिक्रिया