सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

बिकास रौनियार / सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सन् १९९४ मा भारतीय टेलिभिजन सिरियल ‘शांग्रिला’को छायांकनका क्रममा मुस्ताङमा बिताएका दिनलाई स्मरण स्मरण गर्दा छुटै आनन्द मिल्छ । अभिनेता अनुप सोनीसँगको पहिलो भेटदेखि वर्षौंपछि मुम्बईमा भएको आत्मीय पुनर्मिलनसम्मका ती पलहरू मेरा लागि कति खास छन् भन्ने तर्क म शब्दमा व्यक्त गर्न सक्दिन ।

कहिलेकाहीँ अनौठो तरिकाले तस्बिर खिच्ने अवसर मिल्छ । सन् १९९४ को एउटा यस्तै अवसरलाई आज ताजा गर्दैछु, अर्थात् स्मरण, जुन मलाई भारतीय टेलिभिजन सिरियल ‘शांग्रिला’को छायांकनका क्रममा प्राप्त भएको थियो ।

मेरी बहिनी सनी रौनियार ‘प्रेम पिण्ड’ फिल्मका लागि चर्चित थिइन् । उनलाई निर्देशक सत्यदेव दुबेले भारतीय टेलिभिजन सिरियल ‘शांग्रिला’का लागि अनुबन्ध गरेका थिए । सिरियलको छायांकन मुस्ताङमा हुने तय भएपछि मलाई काकाले छायांकन टोलीसँगै जान भने । म खुसीसाथ सहमत भए र टोलीसँगै मुस्ताङतर्फ लागे ।

मुस्ताङको त्यो यात्रामा मेरो भेट अभिनेता अनुप सोनी, राजेन्द्र चावला, ओम पुरी र सुधांशु जोशीसँग भयो । मेकअप आर्टिस्ट सन्तु तामाङ पनि छायांकन टोलीमा थिए ।

मुस्ताङमा उनीहरू ‘ओम्स होम’ मा बसेका थिए । त्यहाँ यसअघि ‘खुदा गवाह’ फिल्मको छायांकनका क्रममा अमिताभ बच्चन, श्रीदेवी र ड्यानी डेन्जोङ्पा बसेका थिए । त्यही होटलमा बस्दा अमिताभ बच्चन बसेको कोठामा बस्ने विषयमा टोलीका सदस्यबीच तँछाडमछाड नै भएको मलाई स्पष्ट सम्झना छ ।

समय बित्दै जाँदा त्यो यात्रा एउटा पुरानो सम्झनामा सीमित भयो । तर, अनुप सोनीसँगको भेट र मुस्ताङमा बिताएका दिन स्मृतिमा ताजै रहे। त्यसको २९ वर्षपछि सन् २०२३ को अक्टोबरमा ‘ग्लोबल मेरिटाइम समिट’मा सहभागी हुन म मुम्बई पुगेका बेला अनुप सोनीलाई फोन गरे । सोनीले भेट्न तुरुन्तै सहमति जनाए र मलाई मुम्बईको अन्धेरी वेस्टस्थित एउटा क्लबमा बोलाए ।

वर्षौंपछि भएको त्यो भेटमा हामी बीच मुस्ताङमा छायांकनका क्रममा बिताएका दिनका कुरा भए । पुराना सम्झनासँगै सोनीले मलाई गुलजारको फिल्म ‘इजाजत’ हेर्न सिफारिस गरेको प्रसंग पनि सम्झिए । मेरा लागि त्यो भेट केवल पुरानो सहकर्मीसँगको पुनर्मिलन मात्र थिएन, तीन दशकअघिको यात्रालाई फेरि स्मृतिमा फर्काउने अवसर पनि थियो ।

नेसनल स्कुल अफ ड्रामाका पूर्वविद्यार्थी अनुप सोनी भारतीय अभिनेता तथा प्रस्तोताका रूपमा परिचित छन् । उनले ‘सी हक्स’ र ‘साया’जस्ता टेलिभिजन धारावाहिकबाट अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछि फिल्म र टेलिभिजन दुवै क्षेत्रमा काम गर्दै उनले आफ्नो पहिचान स्थापित गरे ।

‘खराश : स्कार्स फ्रम दंगल’, ‘हम प्यार तुम्ही से कर बैठे’ र ‘हथियार’जस्ता फिल्ममा अभिनय गरेका सोनी सन् २००४ मा अशोक पण्डितको फिल्म ‘शीन’मा पनि देखिएका थिए । पछि उनी टेलिभिजनमा फर्किएर ‘सीआईडी : स्पेसल ब्युरो’मा आबद्ध भए ।

‘बालिका वधू’जस्ता लोकप्रिय धारावाहिक र ‘गंगाजल’, ‘गडमदर’ तथा ‘अपहरण’जस्ता फिल्ममा उनको अभिनयलाई दर्शकले रुचाएका छन् । टेलिभिजन कार्यक्रम ‘क्राइम पेट्रोल’का प्रस्तोताका रूपमा पनि उनले लोकप्रियता कमाएका छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com